काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनावमार्फत् ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । उनले फागुन २१ को चुनाव सफल बनाउन सबैसँग अपिल गरिन् ।
संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कार्कीले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने र नागरिकबाट सोही अनुसारको कर्तव्यको अपेक्षा राखेको बताइन् ।
‘जेनजी युवाको नेतृत्वमा भएको आन्दोलन देशमा व्याप्त भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो, यसलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग जोडेर हेरेकी छु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । ‘शासकीय आकांक्षा बोकेर पदको लालसा लिएर प्रधानमन्त्री बनेको होइन, देश संकटमा रहेको बेला परिवर्तनकारी युवाको अनुरोध समेतको आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै ६ महिनाभित्र प्रतिनिधि सभामार्फत् जनप्रतिनिधि सरकारलाई जिम्मा हस्तान्तरण गर्नेगरी अन्तरिम सरकारको प्रधानमन्त्री बनेको हुँ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

