काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार र बिहीबार २ दिन घटेको सुनको मूल्य आज पुनः बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको हो । हिजो सुनको मूल्य तोलामा नौसय रुपैयाँ घटेर दुई लाख १५ हजार दुईसय रुपैयाँमा झरेको थियो।
गएको मंगलबार सुनको भाउ तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार पाँचसय ८९ रुपैयाँमा पुगेको छ।

