काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेर भागेका मध्ये अझै पनि ८ हजार ३७५ कैदीबन्दी फरार रहेका छन्। कारागार व्यवस्थापन विभागका अनुसार कारागारतर्फ ७ हजार ७५३ र सुधारगृहतर्फ ६२२ जना कैदीबन्दी अझै फिर्ता आइसकेका छैनन्।
देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधारगृहबाट १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ६ हजार १७९ जना मात्र नियन्त्रणमा आइसकेका छन्।
२४ भदौमा कैदीबन्दी भाग्ने क्रममा नेपाली सेनाले नियन्त्रण लिने क्रममा १० जनाको मृत्यु भएको विभागले जनाएको छ। मृत्यु हुनेमध्ये रामेछापका ३, धादिङका २ र नौबस्ता बाल सुधारगृहका ५ जना रहेका छन्।
हालसम्म भागेका कैदीमध्ये ठूलो संख्यामा अझै खोजी भइरहेको विभागले जनाएको छ।

