काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बतायो ।
यस्तै, नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो ।
नवनियुक्त शिक्षा मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको मन्त्रालयका एक अधिकारीले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । शिक्षा मन्त्रीमा सिफारिस भएका पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई नदिन र खादामाला नल्याउन भनेका छन् । उनले लेखेका छन्, आफूलाई मन्त्री नभन्न पनि अनुरोध गरेका छन् ।

