काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा कम्तीमा एकजना कम्प्युटर शिक्षक अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन्। मन्त्री पुनले मंगलबार शिक्षा क्षेत्रमा तुरुन्त अघि बढाउनुपर्ने तीनवटा निर्देशन जारी गर्दै विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन यस कदम उठाइएको बताएका छन्।
उनले विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न ८ महिनादेखि १ वर्षसम्म ढिलाइ गरेको विषयमा असन्तोष व्यक्त गर्दै सबै विश्वविद्यालयलाई परीक्षा सकिएपछि बढीमा तीन महिनाभित्रै परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन्। समयमै नतिजा प्रकाशन नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गर्ने चेतावनी पनि मन्त्री पुनले दिएका छन्।
“राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्रै निकाल्न सक्छ भने विश्वविद्यालयहरूले किन सक्दैनन्?” उनले प्रश्न गर्दै समयमै परिणाम प्रकाशन गर्न जोड दिएका छन्।
त्यस्तै, मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको परिसरमा रहेका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचा सहित आकर्षक फुटपाथ बनाउन निर्देशन दिएका छन्।

