२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • जेनजीहरूलाई राष्ट्रपति पौडेलले भने,'निर्वाचन सफल पारी...

जेनजीहरूलाई राष्ट्रपति पौडेलले भने,'निर्वाचन सफल पारी इतिहास रच्नुहोस्'

जेनजीहरूलाई राष्ट्रपति पौडेलले भने,'निर्वाचन सफल पारी इतिहास रच्नुहोस्'

बिहिवार, आश्विन ३० २०८२१०:१५
बिहिवार, आश्विन ३० २०८२१०:१५
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् ।

    प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको राष्ट्रपतिले बताए ।

    उनले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियान र प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गरे ।

    राष्ट्रपति पौडेलले युवाहरू अघि सरेर ’राम्रो प्रतिनिधिसभा बनाउन, भ्रष्ट र बदमास जित्न नपाऊन्, असल र इमानदारहरू जितेर आऊन्’ भन्दै त्यसपछि देश न्याय र सुशासनको बाटोमा जानुपर्ने र युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

    उनले जेनजीहरूको आन्दोलनको सम्मान गर्न सरकारलाई समेत सहभागी गराएर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीका बाँकी मागमा सरकारले ध्यान दिने स्पष्ट पारे ।
    भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा यो अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर चुनावमा होमिन आग्रह गरे । राष्ट्रपतिले जायज मागलाई देखाएर आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति पौडेलको यो आग्रहलाई राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताइन् । उनले राष्ट्रपति कलिलो उमेरदेखि नै देशका लागि निरन्तर सङ्घर्ष गरेको परिपक्व नेता भएकोले उनको भनाइलाई अन्तस्करणको आवाजका रूपमा लिन आग्रह गरिन् ।

    जेनजीका प्रतिनिधिहरूले आफ्नो आन्दोलन सामाजिक आर्थिक न्याय, कुशासन र भ्रष्टाचारविरुद्ध भएको तर संविधान, लोकतन्त्र र सङ्घीयता विरुद्ध नरहेको स्पष्ट पारे । उनीहरूले आन्दोलनलाई मान्यता दिँदै मागहरू पूरा भएपछि सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा आफूहरू दृढ रहेको बताएका थिए ।

    सो बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend