काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै गरेको सचिवालय विस्तारप्रति पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद तोसिमा कार्कीले सार्वजनिक असन्तुष्टि व्यक्त गरेकी छन्। कार्कीले आइतबार सामाजिक सञ्जालमार्फत एक टिप्पणी गर्दै शनिबार गरिएको सचिवालय विस्तारको निर्णय आफूलाई स्वीकार्य नभएको स्पष्ट पारेकी हुन्। उनको भनाइमा, पार्टीभित्र आवश्यक सुधार (रिफर्मेसन) संख्या बढाएर होइन, नेतृत्वमा सुधार गरेर हुनुपर्छ।
रास्वपाको शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालयमा मनोनीत गरेको थियो। नयाँ नियुक्तिसँगै रास्वपाको सचिवालयको संख्या १५ पुगेको छ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै, “रास्वपाको विधान अनुसार २५ जना सचिवालय सदस्य रहने व्यवस्था छ,” भनेका छन्। साथै, उनले तोसिमा कार्कीलाई पनि सचिवालयमा समावेश हुन आग्रह गरिएको तर उनले प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
तर कार्कीको आरोप फरक छ। उनले सचिवालय विस्तारलाई पार्टीको मूल नेतृत्व संरचना परिवर्तनभन्दा महाधिवेशनको निर्णयलाई ढाकछोप गर्ने प्रयासको रूपमा व्याख्या गरेकी छन्। कार्की लेख्छिन्, “हामीले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्वमा हो, संख्यात्मक विस्तारमा होइन। सचिवालय विस्तार गर्नुपूर्व महाधिवेशनबारे स्पष्ट नीति आउनु आवश्यक थियो।”
तत्कालीन प्रतिनिधि सभाकी सांसदसमेत रहेकी कार्की रास्वपाको सुरुवाती चरणदेखि नै सक्रिय नेतृ हुन्। विगतमा पनि उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएकी छन्।
सामाजिक सञ्जालमार्फत गरिएको यो टिप्पणीले रास्वपाभित्र आन्तरिक असमझदारी पुनः सतहमा आएको संकेत दिएको छ। पार्टीले भने सचिवालय विस्तारलाई संगठनात्मक सुदृढीकरणको प्रयास भनेको छ।

