काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग आगामी प्रतिनिधिसभा निर्वाचनबारे संवाद गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार संवाद दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छ।
प्रधानमन्त्री बनेपछि कार्कीले राजनीतिक दलहरूसँग गर्न लागेकी यो पहिलो औपचारिक सामूहिक छलफल हो। उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी छन्।
संवादमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका नेताहरू सहभागी हुनेछन्।
कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाश शरण महत, एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट महासचिव राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी तथा जनमत पार्टीबाट अध्यक्ष सीके राउत सहभागी हुने छन्।
यसअघि प्रधानमन्त्री कार्की राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी भएकी थिइन्। नेकपा एमालेले भने आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुन नसक्ने भन्दै संसद् पुनःस्थापनाको माग गर्दै आएको छ।

