काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको भैपरी खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको हो।
पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरा जिल्लामा रकम पठाइएको गृह मन्त्रालयले जनाएको छ।
गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका आधारमा राहत उपलब्ध गराउने निर्णय गर्दै तत्कालका लागि भैपरी खर्चका रूपमा रकम वितरण गर्न स्वीकृति दिएको थियो। हालसम्म स्वास्थ्य मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ।
घाइतेहरूको पहिचानका लागि परिचयपत्र वितरण भइरहेको छ। गृह मन्त्रालयका अनुसार २ हजार ८७६ परिचयपत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ, जसमा ३८ वटा अस्पतालमार्फत वितरण भइसकेका छन्।
पुनः उपचारका लागि तोकिएका अस्पतालहरूमा “जेनजी क्लिनिक” सञ्चालनमा ल्याइएको छ, जसअन्तर्गत आवतजावत र उपचार दुबै निःशुल्क गरिएको छ। स्वास्थ्य मन्त्रालयले घाइतेहरूका लागि हटलाइन सेवा र सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकेको जनाएको छ।
त्यस्तै, घाइतेहरूको अवस्थाका आधारमा वर्गीकरण गर्न प्राविधिक समिति गठनको तयारी भइरहेको छ, जसमा घाइतेका प्रतिनिधिहरू पनि रहनेछन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म घाइतेको उपचारमा एक अर्बभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ।
मृतकका ५३ परिवारलाई राहत रकम वितरण
गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले राहत र किरिया खर्चका लागि रकम पठाएको छ। तीमध्ये ४९ जनाका परिवारले रकम प्राप्त गरिसकेका छन् भने बाँकी ४ जनालाई वितरण प्रक्रिया चलिरहेको छ।
भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख आर्थिक सहायता र ५ लाख किरिया खर्चका रूपमा उपलब्ध गराउने निर्णय गरेको थियो। आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने यो सुविधा लागू नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
परिवारको अनुरोधबमोजिम दुर्गम जिल्लाका शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन र हेलिकप्टरको व्यवस्था पनि गरिएको थियो। संखुवासभा, धनकुटा, सिरहा, सुनसरी र उदयपुरका ६ जनाको शव हेलिकप्टरमार्फत परिवारलाई बुझाइएको हो।
त्यस्तै, सरकारले काठमाडौं उपत्यकाभित्र “जेनजी जागरण स्मारक पार्क” निर्माण गर्ने निर्णय गरेको छ। सहरी विकास मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइरहेको छ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ७६ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा ३ जना नेपाल प्रहरी, ५३ जना नागरिक, १० जना कैदीबन्दी र एक जना विदेशी रहेका छन्। १२ जनाको पहिचान भने अझै खुल्न बाँकी छ।

