काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने प्रतिबद्धता जनाएकी छन्। मंगलबार बालुवाटारमा जेनजी आन्दोलनका घाइतेहरूसँग भएको छलफलका क्रममा उनले कानूनी र प्रक्रियासम्मत ढंगले काम गर्ने र आन्दोलनको मूल उद्देश्यभन्दा बाहिर नजाने बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनले दिएको जनादेशअनुसार काम चल्ने र सरकारले तोकेको समयमा निर्वाचन सम्पन्न गरिने जानकारी गराइन्। साथै उनले भ्रष्टाचारको छानबिन पनि हुने र राज्यका स्थापित निकायहरूले तीव्र गतिमा अनुसन्धान अघि बढाइरहेको जानकारी दिइन्।
छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर कदम चाल्न सुझाव दिएका थिए। उनीहरूले कारबाही नभएमा सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले भने, “आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानो संरचना कायमै रहेकाले काम गर्न असहज भइरहेको छ।” गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनको छानबिनमा भइरहेको कार्यप्रगतिबारे घाइतेहरूलाई जानकारी गराएका थिए।
यद्यपि घाइतेहरूले सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए। छलफलमा जेनजी आन्दोलनका क्रममा घाइते भएका रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूह सहभागी भएको थियो।

