काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको आजको दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।
टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउन आज दिनभर कुनै बाधा नभए पनि साइतमध्ये बिहान ११ बजेर ३९ मिनेटको अभिजित मुहूर्त उत्तम रहेको छ ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीजस्ता परिकार दिने गर्छन् भने दाजुभाइले गच्छेअनुसार कपडा, दक्षिणा र सौभाग्यका प्रतीक उपहार अर्पण गरी सम्मान प्रकट गर्ने परम्परा रहिआएको छ ।
नेपालभर आजको दिन दिदीबहिनी र दाजुभाइबीचको माया, सम्बन्ध र आशीर्वादको प्रतीकका रूपमा उल्लासपूर्वक भाइटीका पर्व मनाइँदैछ ।

