काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व श्रद्धा र उल्लासका साथ देशभर मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिँदै छन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने शास्त्रीय मान्यता छ । यसो गर्दा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्न जाने र शुभकर्ममा चन्द्रमालाई दाहिने वा सम्मुख पार्नुपर्ने धार्मिक नियमअनुसार शुभ मानिन्छ ।
समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटको अभिजित् मुहूर्त हो । यसै समयमा टीका लगाउने परम्परा शुभ मानिन्छ ।
आज दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणेश र नवग्रहलगायत देवताको आराधना गरी दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका र मखमली, सयपत्री, गोदावरी फूलका माला लगाइदिने चलन छ ।
धर्मशास्त्रविद्हरूका अनुसार तिहारमा सप्तरङ्गी टीका लोकप्रिय भए पनि शास्त्रीय रूपमा पाँच रङ — रातो, सेतो, पहेँलो, हरियो र नीलो — टीका लगाउने परम्परा उल्लिखित छ ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटी जस्ता परिकार दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा तथा सौभाग्यका प्रतीक उपहार अर्पण गर्ने धार्मिक र सामाजिक परम्परा रहिआएको छ ।
आजको भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, सुमधुर सम्बन्ध र आशीर्वादको प्रतीकका रूपमा सम्पूर्ण देशमा उत्साहपूर्वक माहोल बनाएको छ ।

