२०८३, आश्विन २३ गते

images
  • समाचार
  • पोखरामा भाइटीका महोत्सवमा १५ देशका पर्यटक...

पोखरामा भाइटीका महोत्सवमा १५ देशका पर्यटक सहभागी

पोखरामा भाइटीका महोत्सवमा १५ देशका पर्यटक सहभागी

बिहिवार, कार्तिक ६ २०८२०७:०७
बिहिवार, कार्तिक ६ २०८२०७:०७
  • images

    पोखरा । पोखरामा यस वर्षको भाइटीका महोत्सव विदेशी पर्यटकहरूको उत्साहपूर्ण सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। लेकसाइडस्थित होटल पौवामा आयोजित कार्यक्रममा एक सयभन्दा बढी विदेशी पर्यटकले भाइटीका लगाएका थिए।

    पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अमेरिका, बेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्युजिल्यान्ड र नेदरल्यान्डलगायत १५ भन्दा बढी देशका पर्यटक सहभागी भएका थिए। सुवेदीले महोत्सवले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्धनसँगै नेपाली संस्कृतिको विश्वव्यापी पहिचान स्थापित गर्न सहयोग पुर्‍याएको बताए।

    उनका अनुसार संघले विगतदेखि नै नेपालको संस्कृति र परम्परालाई विश्व समुदायमा चिनाउन विविध महोत्सवहरू आयोजना गर्दै आएको छ। “यस पटकको भाइटीका महोत्सव पर्यटकहरूको उल्लेख्य सहभागिताका कारण विशेष र अविस्मरणीय बनेको छ,” सुवेदीले भने।

    महोत्सवमा रेन्वो चिल्ड्रन होमका छात्राहरूले सहभागी पर्यटकहरूलाई भाइटीका लगाइदिएका थिए। साथै, पर्यटकहरूलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहारस्वरूप प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सेलरोटी, आँपको अचार, तरकारी र मिठाई जस्ता नेपाली परिकारहरू चाख्दै देउसी–भैलोमा रमाएका थिए।

    अष्ट्रेलियाकी पर्यटक एनीले आफू धेरैपटक नेपाल आइसकेको बताउँदै यो पटक पहिलोपटक भाइटीका लगाउन पाएकोमा खुशी व्यक्त गरिन्। “नेपालको संस्कृति अत्यन्तै समृद्ध छ। नेपालीहरूको आत्मीय आतिथ्य र पारिवारिक सद्भाव मन छुने खालको छ,” उनले भनिन्।

    महोत्सवका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले कार्यक्रम सफल र भव्य रूपमा सम्पन्न भएको जनाउँदै सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे। उनका अनुसार महोत्सवमा सहभागी पर्यटकहरूलाई तिहारको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि, दिपावलीको अर्थ तथा पाँचै दिनका पर्व—काग, कुकुर, गाई, गोवर्धन र भाइटीकाको महत्वबारे जानकारी दिइएको थियो।

    संघका प्रतिनिधिहरूका अनुसार पछिल्लो समय देशको आर्थिक तथा राजनीतिक अवस्थाले पर्यटन क्षेत्र प्रभावित बनेको अवस्थामा यस्ता सांस्कृतिक महोत्सवहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन पुनरुत्थानमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

    महोत्सवले “संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन” भन्ने नारालाई साकार गर्दै पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend