काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन हुने बताएका छन्।
सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले पार्टी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरिरहेको भए पनि नियमित महाधिवेशनमार्फतै समस्याको समाधान हुने स्पष्ट पारे।
खड्काले पार्टीको केन्द्रीय कार्यसमितिले मुलुकलाई निकास दिन आवश्यक सबै निर्णयहरू विधानअनुसार लिने दाबी पनि गरे। उनले पार्टीभित्रको एकतामा जोड दिँदै नेपाली कांग्रेसले विगतमा जस्तो देशलाई अघि बढाउन भूमिका खेल्ने गरी आवश्यक निर्णय गर्ने बताए।
कार्यवाहक सभापति खड्काले मुलुकलाई संकटबाट जोगाउन सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्र एकजुट हुनुपर्ने बेला आएको पनि बताए।

