काठमाडौं । काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १७ गतेदेखि २० गतेसम्म चार दिने औपचारिक भ्रमणका लागि कतार जाने भएका छन्। बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको दोहा भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
राष्ट्रपति पौडेलको नेतृत्वमा हुने भ्रमणमा कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्ड समिट फर सोसल डेभलप्मेन्ट कार्यक्रममा सहभागी हुने निर्णय भएको छ।
यसै बैठकमा राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिसम्बन्धी निर्णय पनि भएको छ। रिक्त सदस्यको निर्वाचन माघ ११ गते आइतबार हुने भएको छ।
सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ मा समेत हेरफेर गर्दै सैनिक सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ। सञ्चारमन्त्री खरेलका अनुसार, यस निर्णयको उद्देश्य संसदीय कार्यालयको खर्च व्यवस्थापनमा नियन्त्रण ल्याउनु रहेको छ।
त्यस्तै, सरकारले नेपाल र मोरिससबीचको दोहोरो करमुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ।
साथै, सरकारले छापाखाना र प्रकाशन सम्बन्धि दोस्रो संशोधननियमावली २०८२ पनि स्वीकृत गरेको छ। यस अन्तर्गत अनलाइन प्रकाशनको दर्ता र नवीकरण प्रक्रिया अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।

