काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणको दृढ अठोट व्यक्त गरेकी छन्। उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने बताउँदै भनिन् : “यदि भ्रष्टाचार गरेको भेटिए, मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु।”
बुधबार बालुवाटारमा आयोजित त्रिपक्षीय संवाद कार्यक्रममा समापन मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले आफ्नो पद रहरको लागि नभई जिम्मेवारीका लागि स्विकार गरेको स्पष्ट पारिन्। उनले भनिन्, “म यहाँ रहरले आएकी होइन। देशलाई अप्ठ्यारो परेको बेला, जिम्मेवारी नलिने भनेपछि राष्ट्रपतिज्यूले नै मलाई अघि सार्नुभएको हो।”
कार्कीले जनयुद्धका सहिद, घाइते र परिवर्तनका लागि लड्ने युवाको भावना सम्मान गर्दै आफू त्यही संघर्षको निरन्तरता बोकेकी व्यक्त गरिन्। “ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेका सम्झिन्छु। ती घाइतेहरूको अनुहार हेरेरै मैले अघि बढ्ने अठोट गरेकी हुँ,” उनले भनिन्।
प्रधानमन्त्रीले सरकार सुशासन, सुरक्षा र विश्वासको वातावरण बनाउन केन्द्रित रहेको बताउँदै भनिन्, “हामी अविश्वास चिर्दै आत्मविश्वास उठाउँदै छौं। प्रहरीको मनोबल बढ्छ, भागेका कैदीहरू समातिन्छन्, जनताको विश्वास फर्कन्छ।”
विदेशी हस्तक्षेपका विषयमा पनि प्रधानमन्त्री कार्कीले स्पष्ट जवाफ दिइन्। उनले भनिन्, “यहाँ विदेशीले हस्तक्षेप गर्छ भन्ने तर्साउने हतियार मात्र हो। अहिलेसम्म कुनै विदेशीले मलाई केही गर्न वा नगर्न भनेको छैन। राजदूतहरूसँग शिष्टाचार भेट मात्र भएको हो।”
न्यायाधीश र राजनीतिमा संलग्नताको प्रश्नमा प्रधानमन्त्रीले संविधानको मर्म बुझ्न आग्रह गर्दै भनिन्, “संविधानले न्यायाधीशलाई सांसद वा प्रधानमन्त्री हुन नपाउने भनेको छैन। असामान्य परिस्थितिमा असामान्य कदम आवश्यक पर्छ।”
उनले राजनीतिक संस्कृति सुधार्न आग्रह गर्दै भनिन्, “हाम्रो समाज कुरा गरेर बाँच्छ, काम गर्न हिचकिचाउँछ। तर, हामी रोकिँदैनौं। हिजो थन्क्याइएका फाइलहरू खोल्दै छौं, दोषीहरूलाई समात्दै छौं।”
प्रधानमन्त्री कार्कीले इमानदार प्रशासनिक टोली बनेकोमा सन्तोष व्यक्त गर्दै मन्त्री अनिलकुमार सिन्हाको प्रशंसा गरिन्। उनले भनिन्, “उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, परिणाम देखिन थाल्छ।”
अन्त्यमा प्रधानमन्त्री कार्कीले दृढ स्वरमा दोहोराइन्, “हामी डराउँदैनौं। बोलेको कुरा पुर्याउँछौं। यदि कसैले भ्रष्टाचार गर्छ भने, त्यो जसको भए पनि—मेरो आफ्नै बुवाको नाममा पनि—कानूनको कठघरामा उभ्याउँछु।”
(बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवाद कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको समापन मन्तव्य)

