काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासामु चारवटा वैकल्पिक प्रस्ताव पेस गरेका छन् । बिहीबार बिहान खड्कालाई भेटेर महामन्त्री शर्माले पार्टीको महाधिवेशन र आम चुनावका बारेमा प्रस्ताव राखेका हुन् ।
उनले पहिलो विकल्पको रूपमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित २७–२९ मंसिरको कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नेछ । महामन्त्री शर्माले पेस गरेको दोस्रो विकल्पमा मंसिरभित्रै विशेष महाधिवेशनको प्रस्ताव छ । उनले पार्टीको विधानको दफा १७ को उपदफा २ बमोजिम केन्द्रीय समितिले चाहेमा भनेर उल्लेखित दफाबमोजिम बोलाउन प्रस्ताव गरेका हुन् ।
शर्माले तेस्रो विकल्पको रूपमा विधानको दफा १७ को उपधारा बमोजिम नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
यी तीनवटा विकल्पहरूमा सहमति हुन नसके युवाको व्यापक प्रवेशको ढोका खोल्नको लागि विशेषभन्दा नियमित महाधिवेशन उपयुक्त हुने ठहर पनि शर्माको छ । उनले अघि सारेको चौथो विकल्पमा ‘थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौँ त्यसका लागि १६ देखि १९ पुष सम्मको मिति उपयुक्त हुन्छ’ भन्ने आग्रह गरेका छन् ।
जारी केन्द्रीय समितिको बैठकबाट निर्वाचन समिति पुनर्गठन विधान संशोधन मस्यौदा समिति गठन महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्नुपर्ने प्रस्ताव शर्माको छ ।
२१ फागुनमा घोषित प्रतिनिधिसभाको चुनावको तयारी गर्नुपर्ने निर्णय पार्टीले गर्नुपर्ने प्रस्ताव शर्माको छ । प्रतिनिधिसभा विगठन उपर उब्जिएको संवैधानिक प्रश्नको निरूपण सर्वोच्च अदालतले गरेपछि टुङ्गो लाग्नेछ ।
त्यसैगरी, उम्मेदवार चयनमा प्राइमरी इलेक्सन गर्नुपर्ने प्रस्ताव शर्माले गरेका छन् । महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्यूनतम एक महिलासहित तीन जनाको नाम २१ फागुनको उम्मेदवारको रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय गर्न उनले सुझाएका छन् ।
त्यस्तै, राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउन सबै राजनीतिक दलहरूसँग संवादको आयोजना गर्ने र जेन–जी युवाहरूसँग संवाद गर्न तीन सदस्य कार्यदल गठनको प्रस्ताव पनि शर्माले गरेका छन् ।

