काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याएकी छन्।
थाइल्यान्डको बैंककस्थित द एसियन नेटवर्क फर फ्री इलेक्सन्स (आन्फ्रेल) का प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले “एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ सरकार कार्यरत छ” भन्दै स्वच्छ चुनावका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताइन्।
आन्फ्रेलको कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वमा आएको टोली हाल नेपालमा निर्वाचनको वातावरण मूल्यांकनका लागि काठमाडौँमा छ। प्रतिनिधिमण्डलले नेपालको राजनीतिक र प्रशासनिक तयारीबारे बुझ्दै निष्पक्ष निर्वाचन सम्भव हुने विश्वास व्यक्त गरेको छ।
“प्रधानमन्त्री कार्कीको लामो न्यायिक अनुभवले निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित हुने अपेक्षा गरेका छौँ,” आन्फ्रेल टोलीका सदस्यहरूले भने।
प्रधानमन्त्रीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थितिले निर्वाचन प्रारम्भ भएको अनुभूति भएको बताइन्। उनले थपिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव सम्पन्न गराउनु हो। नागरिक समाज र पर्यवेक्षकहरूको भूमिकाले स्वस्थ निर्वाचन वातावरण निर्माणमा सहयोग पुर्याउँछ।”
यस अवसरमा नेपालका स्थानीय निर्वाचन पर्यवेक्षकहरूको सञ्जाल नियोक (NEOC) का पदाधिकारी र सदस्यहरूले पनि सहभागिता जनाएका थिए। उनीहरूले पहिलो पटक मतदान गर्न लागेको युवा मतदातामा देखिएको उत्साहका कारण मतदाता शिक्षामा विशेष जोड दिन सुझाव दिए।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको छ।

