२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नेकपा र भीम रावल नेतृत्वको मातृभूमि...

नेकपा र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच सात बुँदे सहमति

नेकपा र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच सात बुँदे सहमति

बुधवार, कार्तिक २६ २०८२०२:४१
बुधवार, कार्तिक २६ २०८२०२:४१
  • images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

    सहमति अनुसार दुवै पक्षले आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति गरेका छन्। महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति र नेतृत्वलाई संस्थागत गर्ने निर्णय भएको छ। सचिवालयले छिट्टै महाधिवेशनको मिति र स्थान निर्धारण गर्नेछ।

    सहमति पत्रमा नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै बाह्य हस्तक्षेप र दबाबमुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिको मार्गमा अघि बढ्ने अठोट पनि उल्लेख गरिएको छ।

    दुवै पक्षले समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति जनाएका छन्। पार्टी सञ्चालनका सन्दर्भमा लोकतान्त्रिक मान्यता, सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्तलाई अंगीकार गर्दै काम गर्ने पनि निर्णय भएको छ।

    सहमति अनुसार मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिनेछ। डा. भीम रावलको जिम्मेवारी र भूमिकाबारे पनि आपसी सहमतिबाट टुंगो लगाइने उल्लेख गरिएको छ।

    पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायतका दस्तावेज संयुक्त रूपमा तयार पार्ने र पार्टी एकीकरणलाई सहज बनाउन विभिन्न तहमा कार्यदल गठन गर्ने सहमति पनि गरिएको छ।

    सहमति पत्रमा हस्ताक्षर नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा भएको थियो। सहमतिसँगै आजै राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा डा. भीम रावल औपचारिक रूपमा नेकपामा समाहित हुने भएका छन्।

    यस एकतापछि दुवै पक्षले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ तालमेल र साझा रणनीति बनाउने तयारी सुरु गरेका छन्। पार्टी एकीकरणले राष्ट्रिय राजनीति, सामाजिक अभियान र विकाससँग सम्बन्धित योजनाहरूलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend