काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूलाई सिंहदरबार बोलाएकी छन्। आयोगको तथ्याकअनुसार हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन्।
ती दर्ता भइसकेका १२५ पार्टीलाई प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउन भनेकी हुन्।
वर्तमान राजनीतिक परिस्थितिमा सरकारका कदम, प्रशासनिक प्रक्रियाहरू, कानुनी तयारी, तथा आगामी निर्वाचन व्यवस्थापनलगायत विषयमा दलहरूलाई प्रत्यक्ष जानकारी गराउने उद्देश्यले बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ भने कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी यही चुनाव सम्पन्न गराउनु हो।
आज दलहरूसँगको कार्यक्रम पनि निर्वाचनमै केन्द्रित हुने प्रेस संयोजक रावलले बताए। निर्वाचन आयोगमा दर्ता भएका दलहरूले चुनावका लागि भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ। यसका लागि आयोगले मंसिर १० गतेसम्मको समय दिएको छ।

