काठमाडौं ।ओखलढुंगामा एक दम्पतीको बीभत्स हत्या भएको छ। चिशङ्खुगढी गाउँपालिका–६ भदौरेका ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
बिहान अबेरसम्म दम्पती घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गरेका थिए। बाहिरबाट बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि घरभित्र प्रवेश गर्दा दुवैलाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार धारिलो हतियार प्रहार गरी दम्पतीको हत्या गरिएको देखिएको छ।
घटनाको गम्भीरताका कारण कोसी प्रदेश प्रहरी कार्यालयको केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए। “कुकुर राति नै घटनास्थल आइपुगेको थियो। राति पनि कुकुरसहित प्रारम्भिक अनुसन्धान गरिएको छ र बिहानबाट थप अनुसन्धान अघि बढाइएको छ,” उनले बताए।
प्रहरीका अनुसार हालसम्म शव घटनास्थलमै राखिएको छ। “त्यो घरमा पतिपत्नी मात्रै बसोबास गर्दै आएका थिए। छोराछोरी बाहिर रहेको बुझिएको छ। तालिम प्राप्त कुकुरमार्फत अनुसन्धान नगरी शव उठाइने छैन,” इन्सपेक्टर भट्टराईले भने।
हत्या कसले र किन गर्यो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। प्रहरीले सम्भावित सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। केही शंकास्पद व्यक्तिलाई निगरानीमा राखिएको भए पनि अहिलेसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ।
यसअघि पनि केही महिनाअघि ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुकीमा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरमै हत्या भएको थियो। उक्त घटनामा समेत तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरिएको भए पनि हत्यारा अझै पत्ता लाग्न सकेको छैन।

