२०८३, आश्विन २३ गते

images
  • समाचार
  • मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार...

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन हुँदै, काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन हुँदै, काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

शुक्रवार, आश्विन २३ २०८३०२:२०
शुक्रवार, आश्विन २३ २०८३०२:२०
  • images

    काठमाडौँ। काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । यसअन्तर्गत पुरानो तार -कन्डक्टर_ हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।

    नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ–स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ कन्डक्टर जडान गरिरहेको छ । उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नु पर्नेछ ।

    कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो । डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर कन्डक्टर बदल्न बाँकी रहेको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने छ । प्राविधिक कार्यका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend