काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरले सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पर्यटन प्रवर्धन र विकासमा स्थापनाको ५० औँ वर्ष भव्यताका साथ मनाएको छ ।
स्थापनाकाल देखि निरन्तर आबद्धताको ५० वर्षको यात्राको उपलक्ष्यमा एक भब्य उत्सवका साथ् २९ डिसेम्बर २०२५ का दिन रोयल ट्युलिप काठमाडौंमा विशेष समारोह आयोजना सहित स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न गरेको हो ।
सन् १९७५ मा स्थापना भएको पाटा नेपाल च्याप्टरको पाँच दशक लामो नेतृत्व, सहकार्य र प्रभावको समीक्षा तथा स्मरण गर्ने उद्देश्यले आयोजित उक्त ऐतिहासिक कार्यक्रममा वरिष्ठ सरकारी अधिकारीहरू, पर्यटन क्षेत्रका नेतृत्वकर्ता, पूर्व अध्यक्षहरू, निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरू, अन्तर्राष्ट्रिय साझेदारहरू, पाटा सदस्यहरु तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका प्रमुख अतिथि, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले कार्यक्रम उद्घाटन गर्दै पाटा नेपाल च्याप्टरले पर्यटन योजना, नीति पैरवी, पर्यटन प्रवर्द्धन, मानव स्रोत विकास तथा पर्यटन पुनरुत्थानका पहलहरूमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे ।
पाटा अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत नूर अहमद हमीदको भिडियो सन्देशमार्फत पाटा नेपाल च्याप्टरलाई बधाई तथा विश्वव्यापी पाटा सञ्जालभित्र यसले पुर्याएको अनुकरणीय योगदानप्रति प्रशंसा व्यक्त गरिएको थियो।
समारोहको सुरुआत सुरसुधाको स्वागत संगीतबाट भएको थियो भने त्यसपछि पाटा नेपाल च्याप्टरका यंग टुरिजम प्रोफेसनल्सद्वारा प्रस्तुत सांस्कृतिक नृत्यले नेपालको समृद्ध सांस्कृतिक विरासत र भावी पर्यटन नेतृत्वकर्ताहरूको ऊर्जाशीलता झल्काएको थियो।
उपस्थित अतिथिहरूलाई स्वागत गर्दै पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले संस्थापक अध्यक्षदेखि हालसम्मका सबै पूर्व तथा वर्तमान नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्दै, च्याप्टरको ५० वर्षे यात्रामा निरन्तर विश्वास र सहकार्य प्रदान गर्ने सदस्य तथा साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा “पाटा नेपाल च्याप्टरको सार्वजनिक–निजी साझेदारीको ५० वर्षे यात्रा” शीर्षकको विशेष स्मारक भिडियो प्रदर्शन गरिएको थियो, जसमा सन् १९७५ देखि हालसम्म च्याप्टरले हासिल गरेका प्रमुख उपलब्धि तथा योगदानलाई उजागर गरिएको थियो।
समारोहमा पाटा नेपाल च्याप्टरका सल्लाहकार दिपेन्द्र पुरुष ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष प्रवीण पाण्डे तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मन्तव्य राखेका थिए ।
वक्ताहरूले विगत ५० वर्षमा दिगो तथा जिम्मेवार पर्यटन प्रवर्द्धन र नेपालको पर्यटन क्षेत्र सुदृढीकरणमा पाटा नेपाल च्याप्टरले खेलेको अतुलनीय भूमिका तथा योगदानको उच्च प्रशंसा गर्दै आगामी ५० वर्षका लागि शुभकामना व्यक्त गरे ।

