काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले पठाएको पत्र प्रमुख राजनीतिक दलका दुई शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुझेका छन्।
आयोगले धारणा माग्दै पठाएको पत्र सुरुमा दुवै नेताले बुझ्न अस्वीकार गरेका थिए। व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मार्फत पत्र बुझाउने प्रयास असफल भएपछि आयोगले सार्वजनिक सूचना निकाल्ने चेतावनी दिएको थियो। त्यसपछि केही घण्टाको अन्तरमा दुवै नेताले पत्र बुझेका हुन्।
कांग्रेस सभापति देउवाले २४ भदौको आगजनीबाट आफू पीडित भएको, घर जलेर विस्थापित हुनुपरेको र जेनजी आन्दोलनका बेला राज्यको कुनै भूमिकामा नरहेको भन्दै बयान दिनुपर्ने आधारमाथि प्रश्न उठाएका थिए। त्यसैगरी प्रचण्डले पनि आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको र आफ्नै निवासमा आगजनी भएको अवस्थामा बयान किन दिनुपर्ने भन्ने तर्क राखेका थिए।
आयोगका तर्फबाट खटिएका कर्मचारी तथा सुरक्षा अधिकारीहरूले भने यो बयानका लागि नभई सोधपुछ र धारणा संकलनका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए। आयोगलाई सहयोग नगरे सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना जारी गरिने र त्यसको व्यहोरा प्रतिवेदनमा उल्लेख हुने चेतावनीपछि पत्र बुझिएको प्रहरी स्रोतले जनाएको छ।

