काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। आयोजकका अनुसार पौष २७ गते बिहान ११ बजे भद्रकालीबाट सुरु भई सिंहदरबारसम्म परेड निकालिने कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय एकता, स्वाभिमान र साझा पहिचानको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त परेडमा हजारौँ नेपालीको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपाली नागरिकहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको आयोजकले जनाएको छ।
परेडमा सहभागी हुनेहरूले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने पोसाकसहित सहभागिता जनाउन आग्रह गरिएको छ। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने यस एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँसहित देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण तथा वाचन, साथै विविध रचनात्मक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ।
नेपाल एकीकरणका सूत्रधार पृथ्वी नारायण शाहले स्थापना गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र ऐतिहासिक बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना गरिएको आयोजकको भनाइ छ। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
एकता परेडमा स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गर्नेछ। संस्थाका प्रवक्ता विजय शाहका अनुसार, “नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो। हामी विभिन्न दल, समूह वा समुदायका नाममा विभाजित भए पनि सबैजना एक ठाउँमा उभिएर राष्ट्रिय एकताको सन्देश दिनु आजको आवश्यकता हो।”

