२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • निर्वाचनबाट बाहिर राख्ने प्रयास असफल भएको...

निर्वाचनबाट बाहिर राख्ने प्रयास असफल भएको अध्यक्ष ओलीको दाबी

निर्वाचनबाट बाहिर राख्ने प्रयास असफल भएको अध्यक्ष ओलीको दाबी

शनिवार, पौष २६ २०८२०३:२९
शनिवार, पौष २६ २०८२०३:२९
  • images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सक्रिय तथा हस्तक्षेपकारी भूमिकाका कारण लोकतन्त्रविरोधी प्रतिगामी प्रयासहरू विफल पारिएको दाबी गरेका छन्। लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको सहयोगमा प्रतिगमनको थप शृङ्खला रोक्न सफल भएको उनको भनाइ छ।

    शनिबार ललितपुरमा आयोजित पार्टीको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थापित राजनीतिक दलहरूलाई निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको जिकिर गरे। सरकार अहिले दलहरूसँग संवाद गर्ने चरणमा आइपुगेको उनले बताए।

    “हाम्रो पार्टीको सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका तथा लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको प्रयासमा प्रतिगमनको थप शृङ्खलालाई रोक्न सफल भएका छौँ,” ओलीले भने, “स्थापित राजनीतिक दलहरूलाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको छ।”

    उनले स्थापित दलहरूलाई निर्वाचनमा भाग लिनै नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्दै डर र त्रास फैलाउने पात्रहरूको प्रयासलाई ‘माकःफुइँ’को संज्ञा दिँदै ती सबै असफल भएको दाबी गरे। “यस्ता विभिन्न शंकास्पद पात्रहरूको माकःफुइँलाई विफल तुल्याइएको छ,” उनले भने।

    नेपाल भाषाको पुरानो उखान ‘माकःफुइँ’ शब्दशः अनुवाद गर्दा ‘बाँदरको फुर्ती’ अर्थ लाग्छ। लेखक राजेन्द्र महर्जनका अनुसार यसको भावार्थ ‘सके तर्साउने, नसके तर्सिने’ भन्ने हो।

    अध्यक्ष ओलीले भदौ २३–२४ का घटनामा आफू तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई मुछ्ने प्रयास पनि असफल भएको दाबी गरे। “सम्भव भएसम्म तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई ती घटनामा मुछ्ने, नसकिए मिथ्याप्रचार, मिडिया ट्रायल, ‘समन’ र ‘बयान’मार्फत तेजोवध गर्ने प्रयास असफल भएको छ,” उनले भने।

    उनले एमाले विधिको शासनमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै वैध निकायले सोधपुछका लागि बोलाए सहयोग गर्न तयार रहने बताए। “अख्तियारप्राप्त निकायले मुद्दा अभियोजन गरे कानुनसम्मत सामना गर्न हामी तयार छौँ,” ओलीले भने, “तर बदनियतका साथ गरिने नाटक मञ्चनको भुलभुलैयामा नेकपा एमाले पर्दैन।”

    कथित जाँचबुझ आयोगको पहिल्यै लेखिएको पटकथामा आधारित नाट्य मञ्चन पनि असफल भएको दाबी गर्दै ओलीले मुलुकको अवस्था क्रमशः स्थिर बन्दै जाँदा भदौ २४ को विध्वंसकै निरन्तरतामा राजनीति अघि बढाउने प्रतिगामी प्रयास कमजोर हुँदै गएको बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend