काठमाडौं । भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटमा सल्यान जिल्लाका नौ जना नेपालीको ज्यान गएको छ। मृत्यु हुने सबै सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
सोमबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागीसमेत भएको थियो। घटनास्थलमै उनीहरूको मृत्यु भएको जनाइएको छ भने वरपरका घरहरू पनि जलेर ध्वस्त भएका छन्।
दुर्घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती कविता विक, दुई छोरी र एक छोरा तथा अर्को परिवारका काशीराम विक, उनकी श्रीमती र दुई सन्तानको मृत्यु भएको हो। उनीहरू करिब दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै मजदुरी गर्दै आएका थिए।
हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी तथा पहिचान कार्य जारी रहेको छ। घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मीले उद्धार तथा अनुसन्धान कार्य गरिरहेका छन्।
एकै गाउँका नौ जनाको एकैपटक मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ शोकमा डुबेको छ। वडा कार्यालयले शोक सभा आयोजना गर्ने तथा शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

