काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने निर्णय विशेष महाधिवेशन पक्षधर नेताहरूले गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बस्ने तय भएको बैठकमा महामन्त्री गगन थापा र नेता विश्वप्रकाश शर्मासहितको समूह सहभागी नहुने भएको हो।
मंगलबार बिहान ११ बजेका लागि तय गरिएको केन्द्रीय समिति बैठक समय व्यवस्थापनका कारण दिउँसो १ बजे सारिएको थियो। तर तोकिएको समयसम्म पनि बैठक सुरु हुन नसकेको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिए।
उनका अनुसार बैठक ढिलाइ हुनुको औपचारिक कारण केन्द्रीय रूपमा जानकारी गराइएको छैन। यद्यपि केही नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग आन्तरिक वार्ता जारी रहेकाले बैठक बस्न ढिलाइ भएको बताएका छन्।
केन्द्रीय समिति बैठक विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पर्खेर ढिलाइ गरिएको भए पनि सो समूहले बैठक बहिष्कार गर्ने निर्णय लिएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू बैठकका लागि सानेपा नजाने निश्चित भएको नेता मनोजमणि आचार्यले जानकारी दिए।
उनले भने, “महामन्त्रीसहित विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेका केन्द्रीय सदस्यहरू हाल बन्दसत्रमा रहेकाले कोही पनि सानेपा जाने अवस्था छैन।”
विशेष महाधिवेशनको मागलाई लिएर कांग्रेसभित्र आन्तरिक मतभेद चर्किंदै गएको बेला केन्द्रीय समिति बैठक बहिष्कारको निर्णयले पार्टीभित्रको विवाद थप सतहमा आएको देखिएको छ।

