काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि प्रहरीले तीन दिन लगाएर उत्खनन गरेको थियो। उत्खननपछि सो बस डेढ वर्षअघि सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स बस नै रहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।
उनका अनुसार उत्खनन गर्दा ‘गणपति डिलक्स’ लेखिएको भाग फेला परेको हो। सो स्थानमा अझै उत्खनन कार्य जारी रहेको उनले बताए ।
२०८१ असार २८ गते वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस लेदोसहितको पहिरोमा पुरिएर त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए।
दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। सो दुर्घटनापछि नारायणी नदीमा २४ जनाको शव फेला परेको थियो। ती शवमध्ये १९ जना यात्रुकै भएको पुष्टि भएको थियो। नारायणी नदीमा फेला परेका अन्य ५ वटा शवको भने पहिचान हुन सकेको थिएन। हालसम्म ४३ जना यात्रु अझै बेपत्ता छन्।
सरकारले बेपत्ता यात्रुहरूलाई मृतक सरह राहत उपलब्ध गराएको छ। दुईवटा बसमा सबैभन्दा बढी रौतहट जिल्लाका नागरिक सवार थिए। प्रशासनको तथ्यांकअनुसार रौतहटका २७ जना यात्रु बेपत्ता भएका थिए। त्यस्तै भारतका १० जना, पर्सा जिल्लाका १० जना, बाराका ६ जना, सर्लाहीका ४ जना, चितवनका २ जना, भक्तपुरका १ जना र सिन्धुपालचोकका १ जना व्यक्ति बेपत्ता भएको उल्लेख छ।
दुर्घटनापछि भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) का १२ सदस्यीय टोली नेपाल आएर खोजी कार्यमा खटिएको थियो। एक सातासम्म उच्च प्रविधि प्रयोग गरी खोजविन गर्दा पनि बस फेला नपरेपछि भारतीय टोली फर्किएको थियो। त्यतिबेला भारतीय टोलीले दुई वटा सम्भावित पोइन्ट लोकेट गरेको थियो।
खोजी कार्यका क्रममा आधुनिक वाटर ड्रोन (सोनार क्यामेरा), ड्रोन क्यामेरा, र्याफ्टिङ बोट, मोटरबोट, चुम्बक, फलामको हुक लगायतका प्रविधि प्रयोग गरिएको थियो। खोजीका क्रममा एनडिआरएफले ल्याएको १९ किलो तौलको चुम्बक त्रिशूली नदीमा हराएको थियो।
भारतीय टोलीले सिमलतालदेखि गाइघाटसम्मको करिब तीन किलोमिटर क्षेत्रलाई शंकाको घेरामा राखेर खोजी गरेको थियो। सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रु तथा बसको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर टोलीले लामो समयसम्म निरन्तर खोजी कार्य गरेका थिए।

