२०८३, आश्विन २१ गते

images
  • समाचार
  • बालेन शाहको पहिलो रास्वपा कार्यक्रम मधेसबाट...

बालेन शाहको पहिलो रास्वपा कार्यक्रम मधेसबाट सुरु

बालेन शाहको पहिलो रास्वपा कार्यक्रम मधेसबाट सुरु

मंगलवार, पौष २९ २०८२०५:११
मंगलवार, पौष २९ २०८२०५:११
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बालेन शाहको पहिलो राजनीतिक कार्यक्रम मधेस प्रदेशबाट सुरु हुने भएको छ। शाह माघ ५ गते जनकपुर जाने तय भएको छ।

    रास्वपाका मधेस प्रदेश सभापति तपेश्वर यादवका अनुसार बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिनेछन् भने त्यसको भोलिपल्ट माघ ५ गते पार्टी सभापति रवि लामिछानेसहित जनकपुर जाने कार्यक्रम तय भएको छ।

    उक्त दिन रास्वपा मधेस प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला आयोजना गरेको छ। भेलामा प्रदेश समितिका पदाधिकारी, सदस्य तथा आठवटै जिल्ला समितिका सभापतिहरू सहभागी हुनेछन्। भेलामा मधेस प्रदेशमा पार्टीको अवस्था, आठ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रको सांगठनिक स्थिति र भावी रणनीतिबारे छलफल गरिने यादवले जानकारी दिए।

    “त्यो दिन ठूलो सभा होइन, संगठन केन्द्रित भेला हो,” यादवले बताए, “भर्खरै पार्टीमा आउनुभएका बालेन शाहका योजना सुन्नेछौँ र सभापति रवि लामिछानेको निर्देशन लिनेछौँ।”

    रास्वपा प्रवक्ता मनिष झाले पनि बालेन शाह जनकपुर जाने कार्यक्रमको तयारी भइरहेको पुष्टि गरेका छन्। यसैबीच, जनकपुर भ्रमणका क्रममा बालेन शाह महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घरसमेत जाने कार्यक्रम रहेको यादवले जानकारी दिए। हाल उक्त घरमा परिवारका सदस्यहरू बसोबास नगरेको र गाउँपालिकाले प्रशासकीय भवनका रूपमा प्रयोग गरिरहेको छ।

    पुर्ख्यौली क्षेत्रमा पुगेपछि स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने गरी सानो कार्यक्रमको तयारी भइरहेको यादवले बताए। “मधेस आएपछि उहाँले समग्र अवस्था बुझ्ने तयारी गर्नुभएको छ,” उनले भने, “कहाँबाट चुनाव लड्ने भन्नेबारे उहाँले अहिलेसम्म खुलाउनुभएको छैन, तर मधेसबाटै उम्मेदवार बने राम्रो हुने अपेक्षा यहाँका कार्यकर्तामा छ।”

    यसबाहेक, जनकपुरमै शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमको सम्भावनाबारे पनि छलफल भइरहेको यादवले जानकारी दिए।यसअघि बालेन शाहले आफू झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा रहेको कुरा भेटघाटका क्रममा बताउँदै आएको स्रोतहरूले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend