काठमाडौँ । समावेशी समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष किशोरकुमार विश्वासले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं। ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत विश्वासले सुनसरी–३ बाट चुनावी प्रतिस्पर्धामा होमिने घोषणा गरेका हुन्।
सुनसरी–३ नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदार र नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य भगवती चौधरीको प्रभावशाली निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका गच्छदारलाई पराजित गर्दै एमालेकी चौधरीले सानदार जित निकालेकी थिइन्।
पत्रकार सम्मेलनमा अध्यक्ष विश्वासले आगामी निर्वाचनमा कांग्रेसका गच्छदार र एमालेकी चौधरी दुवैलाई पराजित गर्दै सुनसरी–३ बाट जित निकाल्ने दाबी गरे। उनले आफूले जनताको मुद्दा, समावेशिता र समाजवादी एजेन्डालाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिने बताए।
१६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टीको घोषणा
समावेशी समाजवादी पार्टी नेपालले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने निर्णय गरिसकेको जनाएको छ।
यसैक्रममा पार्टीले माघ १ गते बिहीबार सुनसरीको दुहबी नगरपालिका–स्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा उम्मेदवार घोषणा कार्यक्रम आयोजना गर्न लागेको छ।
अध्यक्ष विश्वासका अनुसार उक्त कार्यक्रम माघी महोत्सवसँगै सम्पन्न हुनेछ। “चितवनको सौराहामा माघी नाच हेर्न ७ सय रुपैयाँको टिकट काट्नुपर्छ, तर दुहबीमा आयोजना हुने माघी महोत्सवमा सबैले निःशुल्क रूपमा थारु संस्कृतिको झल्को देख्ने अवसर पाउनेछन्,” उनले भने।
थारु संस्कृति र निःशुल्क परिकारको व्यवस्था
महोत्सवलाई विशेष बनाउन चितवनबाट थारु कलाकार दुहबी ल्याइएको अध्यक्ष विश्वासले जानकारी गराए। साथै कार्यक्रममा सहभागी हुने आगन्तुकहरूका लागि निःशुल्क रूपमा थारु परिकार खुवाउने व्यवस्था समेत गरिएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष विश्वासले समसामयिक राजनीतिक विषयमा टिप्पणी गर्दै रवि लामिछाने र कुलमान घिसिङलाई ‘अमेरिकन’ तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई ‘भारतीय दलाल’को रूपमा व्याख्या गरेका थिए।
समावेशी समाजवादी पार्टी नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्वी नेपालबाट आफ्नो राजनीतिक उपस्थितिलाई सशक्त बनाउने संकेत गरेको छ।

