काठमाडौँ । नेकपा एमालेका युवा नेता विष्णु रिजालले यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि टिकट नपाएपछि गुनासो पोखेका छन् ।
दैलेख क्षेत्र नम्बर २ बाट लगातार तेस्रोपटक सिफारिस भएपनि उनले टिकट पाउन सकेका छैनन् । यसपटक उनी उम्मेदवार चयनका लागि भएको निर्वाचनमा पहिलो भएका थिए । जिल्ला र प्रदेश कमिटीले उनको नाम पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, अध्यक्ष केपी शर्मा ओलीले उनको ठाउँमा लक्ष्मीप्रसाद पोखरेललाई टिकट दिलाएका छन् ।
आफू नेतृत्वको रोजाइमा पर्न नसकेपछि रिजालले सामाजिक सञ्जालमार्फत् दैलेखी जनतासँग माफी मागेका छन् ।
‘जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन’, रिजालले लेखेका छन्, ‘उम्मेदवार छनोटका क्रममा मलाई मतदान, साथ, सहयोग, शुभेच्छा र हौसला प्रदान गर्नुहुने सबै नेता, कार्यकर्ता र दैलेख–२ का बासिन्दाप्रति आभारी छु । साथै, फेरि पनि तपाईंहरूको भावनालाई साकार पार्न असमर्थ भएकोमा विनम्रतापूर्वक क्षमाप्रार्थी छु ।’
उनले आफू सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका पोखरेललाई नेतृत्वले फेरि टिकट दिएको भनेर व्यङ्ग्य गरेका छन् । साथै नेतृत्वलाई रिझाउन सक्ने पोखरेलको क्षमताको प्रशंसा नगरिरहन नसकिने उनको टिप्पणी छ ।
‘नेतृत्वले म सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ’, रिजालले लेखेका छन्, ‘पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’
रिजालले आफू राजनीतिमा स्वेच्छाले लागेको उल्लेख गरेका छन् । दैलेखी जनता, देश र पार्टीलााई सकेको योगदान गर्नमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।
‘मैदानमै छु, मैदानमै हुनेछु । २९ वर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ वर्ष भएछ । कुनै पद पाइएन भने पनि अर्को २९ वर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु’, रिजालले लेखेका छन्, ‘आजका दिनसम्म म कहिल्यै फुट र विभाजनका पक्षमा लागेको छैन । विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरूले आफू मात्रै पार्टी बनाउन लागेको रूपमा प्रस्तुत गर्नु हास्यास्पद छ ।’
उनले अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमणहरूप्रति जति घृणा गरे पनि कमै हुने बताएका छन् ।
‘लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहरूमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन’, रिजालले लेखेका छन्, ‘राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ ।’

