२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • जनकपुरधामको सभापछि बालेन साह आज झापा...

जनकपुरधामको सभापछि बालेन साह आज झापा जाँदै

जनकपुरधामको सभापछि बालेन साह आज झापा जाँदै

सोमवार, माघ ५ २०८२११:५५
सोमवार, माघ ५ २०८२११:५५
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा रहेका बालेन साह आज सोमबार साँझ झापाको दमक पुग्ने भएका छन्।

    निर्वाचन आयोगले भोलि गर्ने उम्मेदवारी दर्ताको तयारीका लागि साह दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रममा सहभागी भएपछि उनी सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

    रास्वपाका अनुसार साहको स्वागतका लागि सुनसरी, मोरङ र झापामा र्‍यालीसहित विभिन्न स्वागत कार्यक्रम आयोजना गरिनेछ। समर्थकहरूको र्‍यालीसहित साह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ।

    बालेन सचिवालय निकट स्रोतका अनुसार इटहरीदेखि नै समर्थकहरूसँग भेटघाट गर्दै जाने कार्यक्रम रहेकाले ठूलो भीड हुने देखिएको छ। सोही कारण साह आज कहाँ बस्ने भन्ने जानकारी सार्वजनिक नगरिएको स्रोतले जनाएको छ। “बसोबासको स्थान सार्वजनिक गर्दा भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भएकाले त्यसलाई गोप्य राखिएको हो,” स्रोतले भन्यो।

    आज साँझ साहले कुनै औपचारिक भेटघाट कार्यक्रम नराखेको जनाइएको छ। भोलि मङ्गलबार उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्। यसैबीच, निर्वाचन अधिकृतको कार्यालयले आज सर्वदलीय छलफल बोलाएको छ। छलफलमा दलहरूको उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिने निर्वाचन आयोगले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend