काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी गराउँदै जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
सिंहले भने, “आज विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएँ । साथै जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु ।”
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराइसकेका छन् । आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गरिएको र सोही पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा रहेका सिंहले बताएका छन् ।
सिंह २०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । जनमत पार्टीले उनलाई मधेश प्रदेश सभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो ।
जेनजी आन्दोलनका क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जालमार्फत राजीनामा दिएको विषयले सिंह विवादमा तानिएका थिए । पछि निर्णय परिवर्तन गरेपछि जनमत पार्टीले समर्थन फिर्ता लिँदा उनी थप विवादित बनेका थिए । त्यसयता पार्टीभित्र उनी र नेतृत्वबीच सम्बन्ध सहज हुन सकेको थिएन ।
४३ वर्षीय सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षसमेत रहेका थिए । उनी तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।

