काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन् । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा एमालेका नेता–कार्यकर्ताले उनको स्वागत गरे पनि ओलीको यो भ्रमण पूर्ण रूपमा चुनाव केन्द्रित र भोट माग्न सीमित देखिएको छ ।
विमानस्थलबाट ओली सिधै विर्तामोड हुँदै दमकतर्फ लागेका छन् । एमाले झापाका अनुसार उनी आजदेखि होटलमै बस्दैछन् र स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, जनगुनासो सुन्ने वा कुनै सार्वजनिक सेवा कार्यक्रम भने तय गरिएको छैन । यसले ओलीको झापा यात्रा जनसेवाभन्दा पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित भोट संकलनमै केन्द्रित रहेको आलोचना बढाएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लामो समय स्थान हदमा परेका ओली पुस २१ गते हद फुकुवा भएपछि पहिलोपटक झापा आएका हुन् । तर त्यतिबेला जिल्लामा नदेखिएका ओली चुनाव नजिकिँदै गर्दा मात्रै सक्रिय देखिन थालेको भन्दै स्थानीयस्तरमै असन्तुष्टि सुनिन थालेको छ ।
विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले अझै चुनावी वातावरण बनाउन नसकेको आरोप लगाए । उनले मतदातामा त्रास, डर र धम्की रहेको तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेकाले वातावरण नबनेको दाबी गरे । तर आलोचकहरूले भने ओली स्वयं चुनावी तयारीमै सीमित रहँदा जनताका समस्या र विकासका मुद्दा ओझेलमा परेको टिप्पणी गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । माघ ६ गते मनोनयन दर्ताको तालिका रहेकाले सीमित व्यक्तिको उपस्थितिमा मात्र कार्यक्रम गरिने एमाले झापाले जनाएको छ । यसले पनि ओलीको भ्रमण जनताका लागि होइन, मतपत्रका लागि मात्र भएको सन्देश गएको स्थानीयहरूको भनाइ छ ।

