२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • काठमाडौं उपत्यकाका १५ क्षेत्रमा रास्वपाको उम्मेदवार...

काठमाडौं उपत्यकाका १५ क्षेत्रमा रास्वपाको उम्मेदवार टुंगियो

काठमाडौं उपत्यकाका १५ क्षेत्रमा रास्वपाको उम्मेदवार टुंगियो

मंगलवार, माघ ६ २०८२०३:५६
मंगलवार, माघ ६ २०८२०३:५६
  • images

    काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाएको छ। पार्टीले काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा उम्मेदवार निश्चित गर्दै मनोनयन दर्ताको प्रक्रियामा सहभागी गराउन थालेको हो। यससँगै उपत्यकाको चुनावी राजनीति थप तातेको छ।

    काठमाडौंका १० क्षेत्रमध्ये रास्वपाले अघिल्लो निर्वाचनमा जितेका तीन सांसदलाई निरन्तरता दिएको छ। काठमाडौं–६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ पुनः उम्मेदवार बनेका छन्। यसअघि काठमाडौं–२ बाट निर्वाचित सोविता गौतमलाई भने यसपटक चितवन–३ मा उम्मेदवार बनाइएको छ। काठमाडौं–१ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छन्, जो समानुपातिक सूचीबाट नाम फिर्ता लिएर प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन्।

    उम्मेदवार छनोटमा काठमाडौं महानगरका मेयर बालेन शाहको प्रभाव पनि देखिएको छ। काठमाडौं–२ मा राप्रपा छाडेर आएका बागमती प्रदेश सांसद सुनील केसीले टिकट पाएका छन् भने काठमाडौं–३ मा महानगरका पूर्व नगरप्रहरी प्रमुख राजु पाण्डे उम्मेदवार बनेका छन्। काठमाडौं–५ मा बालेनको सचिवालयमा रहेका सस्मित पोखरेललाई टिकट दिइएको छ, जसलाई पार्टीले सहप्रवक्ताको जिम्मेवारी दिने तयारीसमेत गरेको छ।

    यस्तै काठमाडौं–४ मा अभियन्ता पुकार बम, क्षेत्र नम्बर ९ मा उपसभापति डीपी अर्याल र क्षेत्र नम्बर १० मा प्रदीप विष्ट उम्मेदवार बनेका छन्। यसरी काठमाडौंमा रास्वपाले पुराना जितेका अनुहार र नयाँ तथा चर्चित व्यक्तिहरूको संयोजन गरेको देखिन्छ।

    ललितपुरतर्फ क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीले निरन्तरता पाएकी छन् भने ललितपुर–२ मा सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदिश खरेल उम्मेदवार बनेका छन्। यस क्रममा असन्तुष्टि देखिएपछि बुद्धरत्न महर्जनलाई ललितपुर–१ मा उम्मेदवार बनाइएको छ। भक्तपुरमा भने क्षेत्र नम्बर १ बाट जिल्ला सचिव रुकेश रञ्जित र क्षेत्र नम्बर २ बाट पूर्वपत्रकार राजीव खत्री उम्मेदवार बनेका छन्। खत्रीलाई एमाले नेता महेश बस्नेतको मुख्य प्रतिस्पर्धीका रूपमा अघि सारिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend