काठमाडौं । डलर अर्बपतिसमेत रहेका नेपाली कांग्रेसका नेता विनोद चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
चौधरी यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। पुनः उम्मेदवारी दर्तासँगै उनले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिन खोजेका छन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै चौधरीले आफू परिवर्तन, आर्थिक रुपान्तरण र नयाँ पुस्ताले उठाएको आवाजको पक्षमा रहेको बताएका छन्। “म राजनीतिक परिवर्तनको पक्षमा छु, आर्थिक रुपान्तरणको पक्षमा छु। जेनजी मुभमेन्टले दिएको सन्देशको मर्मलाई मैले राम्रोसँग बुझेको छु,” उनले भने।
उनले पछिल्लो तीन वर्षमा नवलपरासी पश्चिमको विकासका लागि ठोस आधार तयार भएको दाबी गरे। “म यहाँबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको छ। हामी सबैले प्रत्यक्ष देख्न सक्ने गरी नवलपरासी पश्चिमको विकास अभियान अघि बढेको छ,” चौधरीले बताए।
विकास अभियानलाई पूर्णता दिनकै लागि पुनः उम्मेदवारी दिएको स्पष्ट पार्दै उनले मतदाता, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरे। “यस अभियानलाई पूर्णता दिन आवश्यक छ। त्यसकै लागि मैले नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेको हुँ,” उनले भने, “यहाँहरूको शुभेच्छा, साथ र सहयोगका लागि सधैं आभारी रहनेछु।”
चौधरीको उम्मेदवारीसँगै नवलपरासी पश्चिम–१ मा चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

