काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुले बेँसीसहर नगरपालिका–८ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका सहायक निर्वाचन अधिकृत रामबन्दु गौतमले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार नेकपा ९एमाले० का पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजुङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका गुजेश्वरी प्रजापति मगजु, नेशनल रिपब्लिक नेपाल पार्टीका भरत गुरुङ, जनादेश नेपालका मिलान बास्कोटा, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ, नेकपा ९माओवादी० का रवीन्द्र नखोला र स्वतन्त्रबाट सन्तोष घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले उम्मेदवार गुरुङ नवौँ पटक चुनावमा उठेका छन् । यसअघि २०७९ सालको निर्वाचनमा उनी विजयी भएका थिए । जिल्लामा सबैभन्दा कान्छो उम्मेदवार जनादेश पार्टीका २८ वर्षीय मिलन बाँस्कोटा हुन् ।

