२०८३, आश्विन २१ गते

images

प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारी अझै कमजोर

प्रतिनिधिसभा निर्वाचनमा महिला उम्मेदवारी अझै कमजोर

बुधवार, माघ ७ २०८२०९:१४
बुधवार, माघ ७ २०८२०९:१४
  • images

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा महिला उम्मेदवारको संख्या अझै पनि सन्तोषजनक देखिएको छैन। निर्वाचन आयोगमा दर्ता भएका विवरणअनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी कुल ३ सय ९१ जना महिला उम्मेदवार मैदानमा छन्, जबकि पुरुष उम्मेदवारको संख्या २ हजार ५ सय ८९ पुगेको छ।

    मुख्य राजनीतिक दलहरूले महिला सहभागिता बढाउने प्रतिबद्धता जनाउँदै आए पनि प्रत्यक्ष निर्वाचनतर्फ उनीहरूको उपस्थिति न्यून देखिएको छ। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले जम्मा ११ जना महिलालाई मात्र टिकट दिएको छ। कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा एक जना पनि महिला उम्मेदवार उठाएको छैन। काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा मात्रै महिलाको उम्मेदवारी परेको छ।

    कांग्रेसबाट झापा–२ मा सरिता प्रसाईं, झापा–५ मा मन्धरा चिमरिया, महोत्तरी–३ मा किरण यादव, सिरहा–४ मा चन्द्रकला कुमारी यादव, सिन्धुली–२ मा सुशीला थिङ, मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौँ–८ मा सपना राजभण्डारी, काठमाडौँ–९ मा नानु बास्तोला, चितवन–२ मा मीनाकुमारी खरेल, पूर्वी रुकुममा कुसुमदेवी थापा मगर र दैलेख–१ मा वासना थापा उम्मेदवार बनेका छन्। तीमध्ये केही पूर्वसांसद हुन् भने केही पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन्।

    नेकपा एमालेले पाँच जना महिलालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। सोलुखुम्बुमा कल्पना राई, ओखलढुङ्गामा अस्मिता थापा, बारा–३ मा ज्वालाकुमारी शाह, धनुषा–२ मा जुली महतो र बाग्लुङ–२ मा मञ्जु चालिसे एमालेका महिला उम्मेदवार हुन्। एमालेले कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला उम्मेदवार उठाएको छैन।

    १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिस्ट पार्टीले १२ जना महिलालाई टिकट दिएको छ। झापा–२, संखुवासभा, सुनसरी–२, सप्तरी–४, काठमाडौँका तीन निर्वाचन क्षेत्र, कञ्चनपुर–१, चितवन–३, काभ्रेपलाञ्चोक–२, नवलपरासी पश्चिम र मनाङमा नेकपाका महिला उम्मेदवार रहेका छन्। उपत्यकाभित्र मात्रै तीन जना महिला उम्मेदवार छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीले १० जना महिलालाई चुनावी मैदानमा उतारेको छ। काठमाडौँ, झापा, मोरङ, सुनसरी, कास्की, जुम्ला, हुम्ला, चितवन र धादिङका विभिन्न निर्वाचन क्षेत्रमा उनीहरू प्रतिस्पर्धामा छन्।

    यसैबीच, नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले हालै दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’बाट चुनावी प्रतिस्पर्धा गर्ने भएकी हुन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ जना महिला उम्मेदवार उठाएको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारको सहभागिता पनि देशभर देखिएको छ। तर कुल संख्याका आधारमा हेर्दा प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला प्रतिनिधित्व अझै कमजोर रहेको स्पष्ट देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend