काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाको टिपरको ठक्करबाट मृत्यु भएको हो । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए ।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८:४५ बजे बा.२ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो । फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो ।
उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी भट्टराईले जानकारी दिए ।

