२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि ७ कम्पनी...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि ७ कम्पनी सर्टलिष्टमा, चैतसम्मै सम्झौता गरिसक्ने तयारी

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि ७ कम्पनी सर्टलिष्टमा, चैतसम्मै सम्झौता गरिसक्ने तयारी

बुधवार, फाल्गुण २७ २०८२०७:४८
बुधवार, फाल्गुण २७ २०८२०७:४८
  • images

    काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि बोलपत्र दिएका कम्पनीमध्ये प्राविधिक मूल्याङ्कनबाट सात कम्पनी छनोट भएका छन्। अब ती कम्पनीको आर्थिक प्रस्तावको मूल्याङ्कन प्रक्रिया अघि बढ्ने आयोजनाले जनाएको छ।

    आयोजनाले गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा छ चिनियाँ, तीन भारतीय र एक टर्की कम्पनीसहित १० कम्पनीले आवेदन दिएका थिए। तर आवश्यक मापदण्ड पूरा गर्न नसक्दा तीन कम्पनी प्राविधिक चरणमै बाहिरिएपछि सात कम्पनी मात्र अर्को चरणका लागि योग्य ठहरिएका छन्। 

    नियमअनुसार प्राविधिक रूपमा उत्तीर्ण भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिने व्यवस्था रहेको छ।

    बोलपत्रमा सहभागी कम्पनीहरूले नेपाली कम्पनीसँग संयुक्त रूपमा आवेदन दिनुपर्ने सर्तअनुसार सबैले ज्वाइन्ट भेन्चर बनाएर प्रस्ताव पेस गरेका थिए। छनोट हुने सेवाप्रदायक कम्पनीलाई पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन गर्ने जिम्मेवारी दिइनेछ।

    यसरी छनोट भएको कम्पनीहरूमा काष्ठमाण्डप–गान्सु हेङटोङ, एसएक्सआरबी–ब्राइट बुल, जेटिसिजी–डाँफे, इएमएसएल–पशुपति शिवजी कन्स्ट्रक्सन, समानान्तर–चाइना फस्र्ट हाइवे इन्जिनियरिङ, वेदांशी इन्फ्रास्ट्रक्चर–रानकेन रेल्वे कन्स्ट्रक्सन ग्रुप र चोङक्विङ युक्सिन रोड एन्ड ब्रिज डेभलपमेन्ट–एआरटी कन्स्ट्रक्सनका संयुक्त कम्पनीहरू प्राविधिक चरणमा सफल भएका छन् ।

    त्यसैगरी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट–स्वच्छन्द निर्माण सेवा, बाबरी कन्स्ट्रक्सन–टनेल टेक सोलुसन र केएसएनएस–अल्टिनको–बिपिसिएल भने प्राविधिक मूल्याङ्कन पार गर्न सकेनन् । चैत १ गतेदेखि ती सात कम्पनीको आर्थिक प्रस्ताव मूल्याङ्कन सुरु हुनेछ। यो प्रक्रिया करिब १५ दिन लाग्नेछ। त्यसपछि उत्कृष्ट ठहरिएको कम्पनीको नाम सार्वजनिक गर्दै सात दिनको दाबी–विरोध अवधि राखिनेछ। यदि उक्त अवधिमा कुनै आपत्ति नआएमा सो कम्पनीसँग सम्झौताको प्रक्रिया अघि बढाइनेछ।

    सम्झौताको पत्र पठाइएपछि १५ दिनभित्र सम्बन्धित कम्पनीले आएर सम्झौता गर्नुपर्ने व्यवस्था छ। आयोजनाले चैत महिनाभित्रै सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend