२०८३, आश्विन २२ गते

images
  • समाचार
  • इरान युद्धको असर निर्माण सामग्रीको मूल्यमा,...

इरान युद्धको असर निर्माण सामग्रीको मूल्यमा, रड २ महिनामै किलोको २० रुपैयाँ बढ्यो

इरान युद्धको असर निर्माण सामग्रीको मूल्यमा, रड २ महिनामै किलोको २० रुपैयाँ बढ्यो

सोमवार, चैत्र २ २०८२०५:२५
सोमवार, चैत्र २ २०८२०५:२५
  • images

    काठमाडौँ । इरान युद्धलाई देखाउँदै नेपाली व्यवसायीहरुले अधिकांश वस्तुको मूल्य बढाउन थालेका छन् । उक्त युद्धलाई देखाउँदै निर्माण सामग्रीको मूल्य बढ्न थालेपछि निर्माण क्षेत्र प्रभावित हुने संकेत देखिएको हो । 

    पछिल्लो दुई महिनामा रडको मूल्य मात्रै प्रतिकिलो करिब २० रुपैयाँले बढेको छ। व्यवसायीहरूले कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्च र बजारको माग बढेको कारण देखाउँदै मूल्य समायोजन गरेको बताएका छन्।

    निर्माण व्यवसायीका अनुसार दुई महिनाअघि प्रतिकिलो करिब ८५–८६ रुपैयाँको आसपास रहेको रड अहिले बढेर करिब ९६ रुपैयाँदेखि १ सयको हाराहारीमा पुगेको छ। बजारमा एक्कासी मूल्य बढेपछि घर निर्माण गरिरहेका उपभोक्ता तथा साना ठेकेदारहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

    व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा फलामजन्य कच्चा पदार्थ महँगिनु, इन्धन तथा ढुवानी खर्च बढ्नु र आन्तरिक बजारमा माग बढ्नु मुख्य कारण हुन्। निर्माण सामग्रीको आपूर्ति र लागत बढ्दा त्यसको असर प्रत्यक्ष रूपमा बजार मूल्यमा देखिएको उनीहरूको भनाइ छ।

    निर्माण व्यवसायीहरू भन्छन्, अहिले रडसँगै सिमेन्ट, बालुवा, गिट्टी लगायत अन्य निर्माण सामग्रीको मूल्य पनि क्रमशः बढ्दो क्रममा देखिन थालेको छ। यदि यही अवस्था जारी रह्यो भने आगामी दिनमा घर तथा पूर्वाधार निर्माणको लागत अझै बढ्ने सम्भावना छ।

    निर्माण क्षेत्रका जानकारहरूका अनुसार निर्माण सामग्रीको मूल्य बढ्दा निजी घर निर्माणदेखि ठूला पूर्वाधार परियोजनासम्मको लागतमा दबाब पर्नेछ। यसले निर्माण कार्य ढिलो हुने तथा केही योजनाहरू प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

    रड सिमेन्टसँगै एचडीपीई (हाई डेन्सिटी पोलिथाइलिन) पाइपको मूल्य समेत आकाशिएको छ । विशेषगरी सरकारी ठेक्काका काम सुरु हुने समयमा एचडीपीई पाइपको मूल्य करिब ४० प्रतिशतसम्म बढेपछि विकास निर्माणका काम प्रभावित हुने चिन्ता बढेको छ । 

    खानेपानी आयोजना, सिँचाइ, ढल निकास तथा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने एचडीपीई पाइपको मूल्यवृद्धिले सरकारी तथा स्थानीय तहका आयोजना प्रभावित हुने देखिएको छ । हार्डवेयर एन्ड सप्लायर्सका सञ्चालकका अनुसार निर्वाचनपछि उद्योगहरूले एक्कासि प्लास्टिकजन्य सामग्री विशेषतः एचडीपीई पाइपको मूल्य बढाएर बजारमा पठाएका छन् ।

    ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले सामग्रीको मूल्य बढ्न थालेको बताए । ‘निर्वाचन सकियो, लगतै इरानमा युद्ध सुरु भयो । हामी सबै आयातमै निर्भर छाैँ । स्वदेशमै उत्पादन हुन्छ भनेता पनि आवश्यक कच्चा पदार्थ अरुकै भर पर्दा त्यसको असर देखिन थालेको हो । अन्य वर्षमा पनि फागुन लागेपछि निर्माण सामग्रीको मूल्य स्वत रुपमा बढ्यो, अहिले झन बढ्ने अनुमान हाम्रो छ’, उनले भने । 

    उनका अनुसार फागुन लागेपछि सरकारी निर्माणको काम सुरु हुन्छ । उक्त काम सुरु भएसँगै व्यवसायीहरुले अधिकांश वस्तुको मूल्य बढाउने गर्छन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend