काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा नजिकिँदै जाँदा भावी अध्यक्ष अञ्जन कुमार श्रेष्ठको समूहले औपचारिक रूपमा उमेदवार घोषणा गरेको छ ।
सोमबार काठमाडौँमा एक औपचारिक कार्यक्रम मार्फत प्यानल घोषणा गरिएको हो । चैत २९ र ३० गते हुने साधारणसभालाई लक्षित गर्दै सार्वजनिक गरिएको टिममा वस्तुगततर्फ शिवप्रसाद घिमिरे, एसोसिएटतर्फ प्रवलजंग पाण्डे तथा जिल्ला–नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा उपाध्यक्षका उमेदवार रहेका छन् ।
भावी अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टिमबाट वस्तुगततर्फ शिवप्रसाद घिमिरेले आफ्नो प्यानलसहित उमेदवारी घोषणा गर्दै ‘हामी नै किनरु’ भन्ने प्रश्नको जवाफसहित प्रतिबद्धता पत्र र कार्ययोजना सार्वजनिक गरेका छन् ।
साधारणसभा नजिकिँदै जाँदा घिमिरेले महासंघलाई ‘निर्णायक मोड’ मा पुगेको संस्था भन्दै निजी क्षेत्रको खस्किएको मनोबल उकास्न आफूहरू मैदानमा उत्रिएको बताए ।
उनले अबको नेतृत्व कुरामा होइन, काममा केन्द्रित हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रमैत्री नीति र कर सुधारका विषयमा महासंघ औपचारिक टिप्पणीमै सीमित नहुने, आवश्यक परे दबाब सिर्जना गर्ने, संवादलाई निर्णयमा बदल्ने र
घिमिरे समूहबाट वस्तुगत उपाध्यक्ष उमेदवार स्वयं घिमिरेसहित कृष्णप्रसाद अवाले र विश्वनाथ खनाल उमेदवार रहेका छन् ।
कार्यकारिणी सदस्यतर्फ अरनिको राजभण्डारी, होमप्रसाद घिमिरे, रविन पुरी, धर्मराज सापकोटा, राजकुमार कार्की, संघर्ष विष्ट, नानिराज घिमिरे, राजेश भक्त श्रेष्ठ, वसन्तचन्द्र मरहट्ठा, धनप्रसाद लामिछाने, रघुनन्दन मारु, एबबहादुर थापामगर, सुनिता नेम्हाफुकी र ध्रुवबहादुर गौतम उम्मेदवार छन् ।
जिल्ला–नगर समूहबाट उपाध्यक्ष उमेदवार दिलसुन्दर श्रेष्ठले महासंघलाई माथि पुर्याउन र व्यवसायीको हितमा नीति निर्माणका लागि सक्रिय रहने बताए ।
अर्का उमेदवार कृष्णप्रसाद शर्माले महासंघ बलियो बने मात्रै व्यवसायीको हित सुरक्षित हुने भन्दै ठूला र साना सबै उद्यमीका समस्या समान रहेको उल्लेख गरे ।
उनले कर व्यवस्थामा एकीकृत नीति आवश्यक रहेको र महासंघभित्र अन्तरसंवाद तथा एकता सुदृढ गर्न आफू उमेदवार बनेको बताए ।
एसोसिएटतर्फ उपाध्यक्ष उमेदवार प्रवलजंग पाण्डेले नेपालको अर्थतन्त्र सुधारको चरणमा रहेको भन्दै निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।
उद्योगका लागि सस्तो विद्युत् उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनले महासंघलाई माथि उठाउँदै देश विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
एसोसिएट समूहबाट कार्यसमिति सदस्यका रूपमा अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, ईश्वर जिसी, जुना माथेमा, कृष्णलाल मर्हजन, निकोलश पाण्डे, प्रियराज रेग्मी, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल र उज्वल श्रेष्ठ उमेदवार छन् ।
प्रदेशतर्फ कोशीमा नवीन रिजाल, बागमतीमा वेदबहादुर श्रेष्ठ, गण्डकीमा नवराज सुवेदी र लुम्बिनीमा ठाकुर श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् ।
महासंघका वर्तमान अध्यक्ष चन्द्र ढकालले आफ्नो कार्यकाल अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा सुरु भएको स्मरण गर्दै कोभिडपछिको अवस्था र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्र प्रभावित भएको बताए ।
उनले विधान संशोधन, निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्ताव रोक्ने, उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गराई ३० भन्दा बढी कानुन सुधार गराउनेलगायत उपलब्धि हासिल गरिएको उल्लेख गरे ।
साथै, ७७ जिल्लालाई समेट्दै १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट पब्लिक कम्पनी स्थापना गरी ‘नेपालमा केही गर्न सकिँदैन’ भन्ने भाष्य तोड्ने प्रयास गरिएको बताए ।
भावी अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ व्यवस्थाअनुसार आफ्नो कार्यकालपछि सिधै अध्यक्ष आउने भएकाले इच्छाअनुसारको टिम बनाउन सकिने बताए ।
उनले सकेसम्म सहमतिमा जाने, नभए प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने धारणा राखे ।

