काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थी संख्या घटेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ४ हजार विद्यार्थी कम भएका छन्। यस वर्ष एसईईमा ५ लाख १० हजार विद्यार्थी सहभागी हुनेछन्, जबकि गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
यस वर्ष सहभागीमध्ये करिब ६३ हजार विद्यार्थी ‘एक्जाम्टेड’ (आन्तरिक मूल्यांकनमार्फत) रहेका छन्। साथै, विदेशमा रहेका नेपाली विद्यार्थीमध्ये जापानबाट २३ जनाले एसईई परीक्षा दिने व्यवस्था मिलाइएको छ।
तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईको तयारी अन्तिम चरणमा पुगेको छ। केही जिल्लाबाहेक सबै ठाउँमा प्रश्नपत्र पठाइसकिएको छ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका तथा अन्य सामग्री चैत्र १४ गतेसम्म देशभर पुर्याइसकिने जनाइएको छ।
परीक्षा मर्यादित र व्यवस्थित बनाउन चारवटा सुरक्षा निकाय सम्मिलित केन्द्रीय सुरक्षा समिति सँग समन्वय गरिएको बोर्डले जनाएको छ।
कहिलेदेखि परीक्षा ?
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। यसअघि फागुन २१ गतेको निर्वाचनका कारण परीक्षा दुई साता पछि सारिएको थियो। राष्ट्रिय परीक्षा बोर्डले नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

