काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध कडाइ बढाउँदा एकै दिन १२ लाख रुपैयाँभन्दा बढी जरिवाना उठाएको छ। तर, यही कडाइसँगै ट्राफिकको कार्यशैलीप्रति सर्वसाधारणको असन्तुष्टि पनि बढ्दै गएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मंगलबार मात्रै तीन जिल्लाबाट १६ सय ४० चालकलाई कारबाही गरिएको हो। ती चालकबाट कुल १२ लाख ५ हजार ५१० रुपैयाँ बराबरको जरिवाना असुल गरिएको छ।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई नियन्त्रण गर्न नियमित अनुगमन र कारबाही तीव्र बनाइएको छ। पछिल्लो समय ‘जेन–जी आन्दोलन’ पछि नियम उल्लंघन गर्नेको संख्या बढेको दाबी गरिएको छ।
जनताको गुनासो : जरिवानाको डर देखाएर मनोमानी?
यता सर्वसाधारणले भने ट्राफिक प्रहरीले जरिवानाको डर देखाएर अनावश्यक दुःख दिने र मनोमानी ढंगले कारबाही गर्ने गरेको गुनासो गरेका छन्। बजार क्षेत्रमा साना–साना कारण देखाएर चिट काट्ने, स्पष्ट जानकारी नदिने र व्यवहारमा कठोरता देखिने गरेको आरोप लाग्दै आएको छ।
कतिपय चालकले ट्राफिक प्रहरी र जनताबीच दैनिकजसो भनाभन र विवाद हुने गरेको अनुभव सुनाएका छन्। विशेषगरी भीडभाड हुने क्षेत्रमा यस्तो अवस्था बढी देखिने बताइन्छ।
ट्राफिक व्यवस्थापनका लागि कडाइ आवश्यक भए पनि जनताप्रति व्यवहारिक र पारदर्शी कार्यशैली अपनाउनुपर्ने माग उठिरहेको छ। नियम कार्यान्वयनसँगै जनचेतना र सहकार्य बढाउन सके मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ। प्रहरीले भने नियम उल्लंघन गर्नेलाई कारबाही जारी रहने र सडक अनुशासन कायम गर्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।

