काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। घटनाको १९ दिनपछि अनुसन्धान प्रतिवेदन बुझाइएको हो भने पीडित परिवारले अझै शव बुझेका छैनन्।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख सुधीरराज शाहीका अनुसार घटनासम्बन्धी सम्पूर्ण अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो। यद्यपि प्रतिवेदनका विवरण सार्वजनिक गरिएको छैन।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी इनिशा गत फागुन २३ गते बिहान ‘विद्यालय जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। त्यसै दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो भने त्यसको भोलिपल्ट थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।
पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका व्यक्त गर्दै न्यायको मागसहित विरोध जनाउँदै आएका छन्। घटनाको संवेदनशीलता हेर्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत परिचालन गरिएको थियो र अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिएको प्रहरीले जनाएको छ।
यता परिवारले दोषीमाथि कडा कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएका कारण इनिशाको शव हालसम्म कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ। घटनाले स्थानीय स्तरमा ठूलो आक्रोश सिर्जना गरेको छ। पीडित परिवार र स्थानीयवासीले निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

