काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त हुने तयारी भइरहेका बेला उनको सुरक्षामा खटिने टोली पनि तय गरिएको छ। प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) का रूपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेश बस्याललाई खटाउने निर्णय गरेको छ।
डीएसपी बस्याल नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय रूपमा संलग्न रहेका प्रहरी अधिकृत हुन्। उनी जिल्ला प्रहरी परिसरको मुद्दा शाखामा इन्स्पेक्टर रहेका बेला उक्त बहुचर्चित काण्डको अनुसन्धानमा प्रत्यक्ष रूपमा जोडिएका थिए।
उक्त प्रकरणमा डा. मनोज केसी नेतृत्वको टोलीले प्रारम्भिक पक्राउ प्रक्रिया अघि बढाएको थियो भने त्यसपछि थप अनुसन्धान तथा मुद्दा प्रक्रियाको काम जिल्ला प्रहरी परिसरमार्फत अगाडि बढाइएको थियो। त्यतिबेला परिसर प्रमुखका रूपमा दानबहादुर कार्की कार्यरत थिए।
भुटानी शरणार्थी काण्डको अनुसन्धानमा देखिएको सक्रिय भूमिकापछि बस्याल डीएसपीमा बढुवा भएका हुन्। प्रहरी संगठनभित्र उनलाई इमान्दार र सक्षम अधिकृतका रूपमा चिनिन्छ।

