काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै सुरक्षा निकायका प्रमुखलाई सिंहदरबार बोलाएर उच्चस्तरीय छलफल गरेका छन्।
गृहमन्त्रीको आह्वानपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका हुन्। उनीहरूसँगै नेपाल प्रहरीको कार्य विभागका एआईजी उमाप्रसाद चतुरवेदी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की तथा सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि बैठकमा सहभागी भएका छन्।
प्रहरी स्रोतका अनुसार, दुवै आईजीपीसहितका उच्च प्रहरी अधिकारीहरू गृहमन्त्री गुरुङको कार्यकक्षमा आन्तरिक छलफलमा रहेका छन्। बैठकको एजेन्डा औपचारिक रूपमा सार्वजनिक नभए पनि पछिल्ला राजनीतिक र सुरक्षा परिस्थितिसँग सम्बन्धित विषयमा छलफल केन्द्रित रहेको अनुमान गरिएको छ।
यसअघि शुक्रबार पनि गृहमन्त्री गुरुङले दुवै आईजीपीलाई गृहमन्त्रालय बोलाएका थिए। उक्त बैठकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिइएको स्रोतको दाबी छ।
लगातारको उच्चस्तरीय सुरक्षा बैठकले देशको वर्तमान सुरक्षा र राजनीतिक अवस्थाबारे सरकार गम्भीर रहेको संकेत गरेको छ।

