काठमाडौँ । सरकारले मालपोत कार्यालयमा कार्यरत व्यक्तिलाई ‘बिचौलिया’ को संज्ञा दिँदै धरपकड सुरु गरेपछि लेखापढी व्यवसायीहरू आन्दोलित भएका छन् । विरोधस्वरूप व्यवसायीहरूले देशभरका मालपोत कार्यालयमा ‘पेन डाउन’ गर्दै कामकाज पूर्ण रूपमा ठप्प पारेका छन् ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अनुसार, मालपोतसम्बन्धी सेवा लिनुअघि अनिवार्य रूपमा भू–सेवा केन्द्रमार्फत अनलाइन फाराम भर्ने र आवश्यक कागजात तयारी गर्ने प्रक्रिया रहन्छ । तर व्यवसायीहरूले ‘भू–सेवा आईडी’ प्रणालीअन्तर्गत प्रयोग हुने पाम सफ्टवेयरमा तथ्यांक प्रविष्टि गर्न बन्द गरेपछि जग्गा पास, नामसारी लगायतका सबै काम रोकिएका छन् ।
एसोसिएसन मोरङका अध्यक्ष कन्चन न्यौपानेका अनुसार, ‘राज्यले नै अनुमति दिएर, धरौटी राखेर सञ्चालन गर्न दिएको सेवा हो। हामीले ऐनबमोजिम काम गरिरहेका छौँ। तर अहिले बिचौलिया भन्दै धरपकड हुनु अन्यायपूर्ण छ ।’ उनले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारिन ।
पछिल्लो समय प्रशासनले मालपोत कार्यालय आसपास सक्रिय व्यक्तिमाथि निगरानी बढाउँदै केहीलाई नियन्त्रणमा लिएको छ। प्रशासनको दाबी अनुसार, सेवाग्राहीबाट अतिरिक्त शुल्क असुली र अनियमितता नियन्त्रणका लागि यस्तो कदम चालिएको हो। तर व्यवसायीहरूले आफूहरू वैधानिक ढंगले काम गरिरहेको र सेवा सहज बनाउने भूमिका निर्वाह गरिरहेको जिकिर गरेका छन् ।
आन्दोलनको प्रभाव विशेषगरी कोसी प्रदेशमा बढी देखिएको छ, जहाँ करिब एक हजार लेखापढी व्यवसायी सक्रिय छन्। देशभर करिब ३० हजार लेखापढी कानुन व्यवसायी रहेको अनुमान छ।
सेवा ठप्प हुँदा दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व संकलन प्रभावित भएको छ भने सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। जग्गा किनबेच, नामसारी, धितो लगायतका अत्यावश्यक काम अवरुद्ध हुँदा आर्थिक गतिविधिमा समेत असर परेको देखिन्छ।
व्यवसायीहरूले लेखापढी व्यवसायी सम्बन्धी ऐन २०५१ (संशोधनसहित) अनुसार आफ्नो पेशाको सुरक्षा सुनिश्चित गर्न, धरपकड तत्काल रोक्न र राज्यले स्पष्ट नीति ल्याउन माग गरेका छन्।
छलफलमै केन्द्रीय समिति
केही जिल्लाहरुले पेन डाउन नै गरेर भूसेवा आइडी बन्द गरिरहँदा केन्द्रीय समिति भने अहिलेसम्म केही बोलेको छैन् । समितिले औपचारिक रुपमै आन्दोलनको कार्यक्रम घोषणा नगरि छलफल र वार्तामै केन्द्रीत रहेको जनाएको छ ।
‘सरकारको निर्देनश अनुसार हामीलाई आइडी कार्ड लगाएर जान दिने भन्ने थियो । तर, केही जिल्लाका साथीहरुलाई पक्राउ गरिएपछि साथिहरु आन्दोलित हुनु स्वभाविक हो । हामी छलफर र वार्तामै केन्द्रीत छौँ । छिटै यसको निचोड निस्कन्छ’ केन्द्रीय समितिका एक सदस्यले भने ।
ती सदस्यले जिल्लाका साथीहरुले पेन डाउन गरेतापनि भूसेवा आइडी नै बन्द गरेको सूचना आफूलाई जानकारी आइनसकेको बताए ।

