२०८३, आश्विन २१ गते

images
  • समाचार
  • अध्यागमन विभागले भन्योः वैदेशिक रोजगारीमा जाने...

अध्यागमन विभागले भन्योः वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप कागजात चाँहिदैन

अध्यागमन विभागले भन्योः वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप कागजात चाँहिदैन

शनिवार, चैत्र २८ २०८२११:०३
शनिवार, चैत्र २८ २०८२११:०३
  • images

    काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट जारी सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कागजात सम्बन्धी अन्योल सिर्जना भएको भन्दै औपचारिक स्पष्टिकरण दिएको छ।

    विभागले सार्वजनिक गरेको सूचनाअनुसार, वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अध्यागमन कार्यालयमा अनावश्यक थप कागजात पेस गर्नुपर्ने कुनै व्यवस्था नभएको स्पष्ट पारिएको छ। श्रमिकहरूले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृति र राहदानीलगायत न्यूनतम आधारभूत कागजात मात्रै साथमा भए पुग्ने विभागले जनाएको छ।

    ‘वैदेशिक रोजगारीको सिलसिलामा प्रस्थान गर्ने नेपाली श्रमिकहरूको हकमा श्रम स्वीकृति र राहदानीबाहेक अध्यागमन कार्यालयमा थप कुनै कागजात वा बिलररसिद पेस गर्न आवश्यक छैन,’ विभागले सूचनामा उल्लेख गरेको छ।

    यसैगरी, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि पनि आवश्यक कागजातबारे विभागले स्पष्ट पारेको छ। गृह मन्त्रालयको २०८२ असोज १३ गतेको निर्णय तथा प्रचलित अध्यागमन कानुनअनुसार, कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित विदेश यात्रा गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।

    विभागले पछिल्लो समय विभिन्न माध्यमबाट फैलिएको भ्रमप्रति ध्यानाकर्षण गराउँदै विदेश यात्रा गर्ने नागरिकलाई सही जानकारीका आधारमा ढुक्क भएर यात्रा गर्न आग्रह गरेको छ। ‘विदेश यात्रा गर्ने नेपाली नागरिकहरू कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य र यात्रासम्बन्धी पूर्ण जानकारी लिएर निर्धक्क रूपमा यात्रा गर्न अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ।

    अध्यागमन विभागको यो स्पष्टिकरणसँगै विमानस्थलमा कागजातसम्बन्धी अन्योल हट्ने र सेवाग्राहीले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।

    WhatsApp Image 2026-04-11 at 10.17.03 AM.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend